Nov 25, 2017

पृथ्वीमा रात हराउँदै

Ncell Axiata
sagun
मंसिर ९ – कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै गएको र हरेक वर्ष यो क्रम बढ्दो रहेको अनुसन्धानमा संलग्न जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसन्धानकर्ताले बताएका छन् । रातको समयमा स्याटेलाइटबाट लिइएका पृथ्वीको विभिन्न तस्बिरको अध्ययनबाट कृत्रिम प्रकाशका कारण रात कम हुँदै गएको देखिएको हो । सन् २०१२ देखि २०१६ को बिचमा गरिएको अध्ययन अनुसार हरेक वर्ष पृथ्वीको बाहिरी भागमा कृत्रिम उज्यालो दुई प्रतिशतले वृद्धि भइरहेको छ । वैज्ञानिकहरुले भनेका छन्, रात हराउँदै जाँदा धेरै देशमा मानव, जीवजन्तु तथा वनस्पतिमा  नकारात्मक असर पारिरहेको छ । अमेरिकी अन्तरिक्ष नियोग नाशाको स्याटेलाइट रेडियोमिटरबाट लिइएका तस्बिरको अध्ययनबाट अमेरिका तथा स्पेन विश्वका सबैभन्दा उज्याला देशका रुपमा देखिएका छन् । रातको समयमा प्रकाशको मात्रा मापन गर्न सक्ने प्रविधिसहितको रेडियोमिटरबाट लिइएका तस्बिर अनुसार दक्षिण अमेरिकाका धेरै देश, अफ्रिका तथा एसियाका देशमा पनि उज्यालोको मात्रा हरेक वर्ष बढ्दै गइरहेको छ । भारत पनि २०१२ देखि २०१६ को अवधिमा उज्यालोको मात्रा बढ्दै जाने देशमा परेको छ । तर यमन र सिरियामा भने पछिल्ला वर्ष उज्यालोको मात्रा कम रहेको अध्ययनले देखाएको छ ।

No comments:

Post a Comment