Nov 25, 2017

झापा–३ मा बेग्लै पाराको गठबन्धन, कृष्ण सिटौलाको राजनीतिक विरासत खतरामा

झापा, मंसिर ९ – देशभरि एकखाले गठबन्धन छ, तर झापाको कुरा बेग्लै छ यसपटक । अन्यत्र कांग्रेससँग राप्रपा मिलेको छ । नारिएर राप्रपा र कांग्रेसका कार्यकर्ता भोट मागिरहेका छन् । तर पश्चिम झापाको मावा नदी तरेर पूर्व लागेपछि बेग्लै दृष्य देखिन्छ । यहाँ राप्रपा, एमाले र माओवादीको गठजोड भएको छ ।
झापा–३ लाई कांग्रेसी नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक आधारभूमि मानिन्छ । उहाँ २०५० सालदेखि अहिलेसम्म तीनपटक निर्वाचित भइसक्नु भएको छ ।
  
२०५० असार ६ गते तात्कालिन एमाले सांसद द्रोर्णप्रसाद आचार्यको निधन भएपछि भएको उपचुनावमा उहाँ पहिलोपटक झण्डै ७ महिना यो क्षेत्रबाट सांसद बन्नुभएको थियो । २०४८ को चुुनावमा बनेको एमालेको पकड भत्किन थाल्यो । २०५१ सालमा कांग्रेसमा छत्तिसे र चौहत्तरे गुट सृजना भएपछि बहुमतको कांग्रेस सरकार ढल्यो र २०५१ कात्तिक अन्तिममा भएको दोस्रो आम चुनावमा भने यहाँबाट सिटौला हार्नुभयो र एमालेका पुष्प पोखरेल विजयी हुनुभयो ।

तुलनात्मक रुपमा राप्रपा पनि यहाँ बलियो मानिन्छ । एमालेलाई पछिपार्दै सिटौलाको निकटतम प्रतिस्पर्धी बन्न सफल राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन त्यस्ता पात्र हुन जसका कारण देशैभरिका लागि बनिसकेको कांग्रेस—राप्रपा गठबन्धन यसपाली झापामा बन्न सकेन । सिटौलाले आफ्ना विरुद्ध झापामा अचम्मको गठजोड भएको संक्षिप्त र चिसो प्रतिकृया दिनुभएको छ । उहाँले चुनावी सभाहरुमा भन्ने गर्नुभएको छ, “आत्तिएर सबै एकठाँउ भएका हुन, जित मेरै हुनेछ ।”

तर ५ महिनामात्र अघि भएको स्थानीय तहको चुनावको नतिजाले उहाँका लागि त्यति सहज देखाउँदैन । यो क्षेत्र अन्तर्गतका कचनकवल र हल्दीबारी गाँउपालिकामा राप्रपा विजयी भएको छ भने क्षेत्रकै केन्द्रविन्दुमा रहेको भद्रपुर नगरपालिकामा एमालेले मेयर, उपमेयरसहित अत्याधिक बहुमत ल्याएको छ । स्थानीय तहमा कांग्रेस यो क्षेत्रको तेस्रो शक्ति मात्र बनेको थियो । यसले सिटौला वास्तवमै कठिन लडाईँका लागि मैदानमा उत्रिएको देखाउँछ ।

चुनाव प्रचारप्रसारको लागि एमाले अध्यक्ष झापा–३ मा दुईपटक ठूला आमसभामा मुख्य वक्ता बनेर पुगिसक्नु भएको छ । उहाँले वाम गठबन्धनका मतदातालाई झापा १ मा गाई चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । उहाँले भन्ने गर्नुभएको छ, “कांग्रेसको विश्वासमा परेर दुःख पाएको राप्रपालाई हामीले साथ दिएर यहाँ उकास्दैछौं, यो क्षेत्रमा हाम्रो उम्मेद्धार राजेन्द्र लिङदेन नै हो ।”

कांग्रेसभित्र वैकल्पिक धार बनाइसकेका राष्ट्रिय राजनीतिका एकजना खेलाडी सिटौलालाई स्थानीय क्षेत्रको विकासमा विल्कुलै ध्यान नदिएको आरोप विपक्षी दलका कार्यकर्ताले मात्र होइन स्वयं कांग्रेस वृत्तबाटै पनि लाग्ने गरेको छ । सदरमुकाम समेत रहेको यो क्षेत्रका धुलाम्य सडक, वर्षेनी डुबानमा पर्ने आदिवासीका बस्ती, बन्न नसकेका पुल आदिका कारण उहाँ राजनीतिक विरासत गुम्ला कि भन्ने खतराको छेउबाट गुज्रिरहनु भएको छ ।

No comments:

Post a Comment