मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले
उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी
एमालेको युवा पंक्तिमा उनी चर्चित छन् ।
देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ ।
उनी २३ वर्षको हुँदा ०५४ सालको स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको
अध्यक्षमा निर्वाचित भएका थिए । ०७० सालको संविधानसभा चुनावमा भने उनी
भक्तपुर २ बाट पराजित भए ।
बस्नेत एमाले अध्यक्ष केपी ओलीका प्रियपात्र मानिन्छन् । चुनाव
हार्नुका बाबजुद सुशील कोइरालाको सरकारका पालामा ओलीले उनलाई उद्योगमन्त्री
बनाएका थिए ।
यसपालि भक्तपुर २ बाट निर्वाचित हुन बस्नेतले कांग्रेस उम्मेदवार
दमननाथ ढुंगाना र नेमकिपाकी अनुराधा थापाको चुनौति पार गर्नुपर्ने छ ।
अनलाइनखबरसँगको कुराकानीमा बस्नेत आफ्नो जितमा ढुक्क देखिए ।
प्रस्तुत छ उनीसँग गरिएको कुराकानी:
चुनावको धपेडी कत्तिको छ ?
ब्यापकै धपेडी छ । घरदैलो कार्यक्रम सुरु भइरहेको छ । भेला-भेटघाटहरु र अन्य सामाजिक कामहरु पनि भ्याइएको छ । औधि दौडधुप छ ।
आज दिनभरिको तपाईंको सेड्यूल बताइदिनुस् न ?
बिहान २-३ वटा ग्रुपसँग घरमै भेटघाट गरेँ । त्यसपछि सूर्यविनायक
नगरपालिका वडा नम्बर ४ को घरदैलोमा निस्केँ । घरदैलो सकेर भक्तपुरको
भेलुखेलमा श्रीमदभागवत् महायज्ञको उद्घाटन गरेँ । त्यसपछि इयूको टिमसँग
निर्वाचनसँग सम्वन्धित कुरामा छलफल भयो । अहिले तपाईंलाई अन्तरवार्ता दिँदै
छु ।
यहाँबाट निस्केर एउटा टेलिभिजनमा लाइभ अन्तरवार्ता छ । त्यसपछि कर्मचारी
युनियनका साथीहरुसँग भेटघाट गर्छु । त्यसपछि मध्यपुर ठिमी ५ नम्बर वडामा
भेटघाट छ । त्यो सकेर सीपाडोल सूर्यविनायकको वडा नं. ८ मा भेटघाट छ । र,
अन्त्यमा पान्डु बजारमा भेटघाट छ । लगभग राति १० बजेसम्म प्याक छु ।
खाने-पिउने कतिबेला त ?
खानेपिउने त टुंगो नै हुँदैन । बिहान घरदैलो कार्यक्रम सकेर साथीभाइकोमा खाएर हिँडेको ।
अघिल्लो संविधानसभा चुनावमा पनि यही क्षेत्रबाट लड्नुभएको थियो । तेस्रो हुनुभयो । यो चुनावमा चाहिँ के सोच्नुभएको छ ?
यो चुनाव त जितिन्छ । हारेर पनि चार वर्षयता यो क्षेत्रको विकासमा मैले
पुर्याएको योगदानले मतदाता प्रभावित छन् । अर्कोतर्फ निर्वाचित भएर गएका
साथीहरुको गतिशून्य र भूमिकाविहीन स्थितिले मलाई लाभ भएको छ ।
पाँच महिना अगाडि भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरको ४ वटामध्ये
तीनवटा नगरपालिकामा हामी जित्न सफल भयौं र मेरो क्षेत्रमा भएको दुवै
नगरपालिकामा हामीले जितेका छौं । त्यसैले यसपालि चुनाव जित्न हामीलाई
समस्या छैन ।
अघिल्लो चुनावमा हाम्रो भोट अत्यधिक बदर भएको थियो । ‘एक गाई एक भाई’ को
नाराले हामीलाई असर गर्यो । एकसाथ सूर्य र गाईमा छाप हालेका २१-२२ सय भोट
बदर भए । त्यो अवस्था यसपालि हुँदैन ।
तपाईंले यस क्षेत्रमा धेरै काम गरेको छु भन्नुभयो, तपाईले गरेका कामको फेहरिस्त पनि सुनाइदिनुस न…
चुनाव हार्दा पनि मन्त्री बन्न पाउने भाग्यमानी म भएँ । आफ्नो
मन्त्रित्वकाल र केपी ओलीको नौ महिने सरकारलाई अधिकतमरुपमा भक्तपुरको
विकासमा प्रयोग गर्न सफल भएँ । चार वर्ष म निरन्तर जनताको सुखदुखमा साथ
दिँदै खटेँ ।
हामीले हनुमन्ते कोरिडोर र मनोहरा कोरिडोर निर्माण गर्यौं । म मन्त्री
हुँदा त्यसलाई सुरुवात गरियो र केपी ओली प्रधानमन्त्री हुँदा बजेटमा पार्न
सफल भयौं ।
सूर्यबिनायक जंगललाई अन्तर्राष्ट्रिय प्राणी उद्यान केन्द्र
(जियोलोजिकल) पार्कका रुपमा पर्यटकको आकर्षणको केन्द्र बनाउने भनेर बजेट
पार्न सफल भयौं । अघिल्लो वर्ष ६ करोड विनियोजन भयो भने अहिले १०-१२ करोड
आएको छ ।
उपत्यकाभित्र ४ वटा स्याटेलाइट सिटी बन्ने घोषणा भएकोमा दुईवटा
भक्तपुरमै परे । एउटा हाम्रो एरिया बालकोटदेखि गुण्डुसम्म परेको छ । वीर
हस्पिटललाई हामीले भक्तपुर लैजान सफल भयौं । मेलम्ची खानपानी पहिलो चरणमा
भक्तपुर थिएन । पहिलो चरणमा त्यसलाई पारेर दुईवटा खानेपानीका विशाल ट्यांकी
बन्दैछन् । त्यो दौरानमा ४८ वटा सडक विस्तारका काम गर्यौं ।
हनुमन्ते खोलामा पाँचवटा नयाँ पुल निर्माण गर्ने काम भयो । हनुमानघाटमा
मात्रै हामीले डेढ करोड रुपैयाँ छुट्याएर घाटलाई व्यवस्थित गर्ने काम अघि
बढ्दैछ ।
भूकम्पमा जीर्ण भएका चाँगुनारायण, अनन्त लिंगेश्वर, डोलेश्वर लगायतका मन्दिरहरु निर्माणका लागि पर्याप्त बजेट छुट्याउन सफल भयौं ।
हामीले यस क्षेत्रको विकासमा गरेको मिहिनेतको प्रतिफल नै भक्तपुरका जनताले स्थानीय चुनावमा एमालेलाई एक नम्बर बनाएका हुन् ।
भनेपछि एक्लो बलबुँताबाट स्थानीय चुनावमा एमालेलाई अगाडि ल्याएँ भन्न खोज्नुभएको हो ?
होइन, एमाले अगाडि आउनुका अरु पनि कारण छन् । राष्ट्रिय राजनीतिमा
हाम्रो अध्यक्षज्यूले खेल्नुभएको भूमिका, नाकाबन्दीको बेला राष्ट्रियताका
सन्दर्भमा उहाँले लिनुभएको अडान, संविधान संसोधनमार्फत मुलुकको राष्टिय
अखण्डता र स्वाधीनतालाई समाप्त गर्ने खेलका विरुद्ध पार्टीको अडान पनि
मुख्य कारण हो ।
यसरी, राष्ट्रिय र स्थानीय दुवैस्तरमा एमालेको भूमिकाले प्रभाव पारेको छ ।
आउँदो चुनावको कुरा गरौं । कांग्रेसले केन्द्रबाटै दमननाथ
ढुंगाना जस्ता ०४८ सालमै सभामुख भइसक्नुभएका ‘भेट्रान’ नेता पठाएको छ ।
तपाईंलाई उहाँसँग डर छैन ?
कांग्रेसबाट जो उठेको भए पनि यसपालि हामीलाई गाह्रो थिएन । तर, उहाँलाई
उठाइएपछि हामीलाई झन् सजिलो भएको छ । उहाँलाई स्वास्थ्यले पनि साथ दिइरहेको
छैन । घरदैलोमा मोटरसाइकल चढेर हिँडिरहनुभएको छ ।
अर्को कुरा, मैले यहाँका लगभग सबै मतदातालाई चिन्छु । तर, उहाँले आफ्नै कार्यकर्तासँग पनि परिचयात्मक कार्यक्रम राखिरहनुपरेको छ ।
र, फेरि भक्तपुरको सेन्टिमेन्ट अलि ‘कम्युनल’ छ । ०५६ सालमा हामीले
युवराज कार्कीलाई ल्याएर उठाएकै हो नि । त्यसमा एमालेको निकै नराम्रो
रिजल्ट आयो । देशभरि राम्रो भइरहँदा भक्तपुरमा झूर भयो ।
अहिले दमननाथजीको आगमनलाई भक्तपुरका कांग्रेसका नेताहरुले नै स्वीकार्न
सक्नुभएको छैन । मलाई लाग्छ, कांग्रेसको ७० प्रतिशत पार्टी पङ्ती यहाँ
निस्क्रिय बसेको छ । सामाजिक सञ्जालमा असुन्तुष्टिहरु आएका छन् । उहाँको
उम्मेदवारीले पार्टी पङ्तिमा आशा र उर्जा होइन, निराशाको सञ्चार गरेको छ ।
अर्कोतर्फ उहाँले भारतीय नाकाबन्दीका बेलामा वीरगञ्ज नाकामा गएर ‘भारतले
नाकाबन्दी अझै कडा पार्नुपर्छ’ भनेर बोल्नुभएको कुरा अहिले पनि चर्चामा छ ।
युवा मतदाता र बौद्धिक जमातले यसबारे प्रश्न उठाइरहेका छन् । उहाँले
त्यसको स्पष्टीकरण दिने क्रममा वीरगञ्जको मितेरी पुलमा गएर मधेसी मोर्चाको
आन्दोलनलाई समर्थन गरेको स्वीकार गर्नुभएको छ । यसबाट कांग्रेसकै मतदाताहरु
पनि भड्किने अवस्था छ ।
भक्तपुर-२ मा कांग्रेसले दमननाथलाई उम्मेदवार बनाउनुको तात्पर्य के होला जस्तो लाग्छ तपाईंलाई ?
यहाँको उम्मेदवारीका विषयमा कांग्रेसभित्र निकै ठूलो विवाद र अन्तरविरोध
थियो । स्थानीय चुनावको हारलाई समीक्षा गर्ने क्रममा पनि उहाँहरुले
अन्तरविरोधलाई कारकतत्व ठहर्याउनुभएको थियो । कांग्रेसभित्र मुख्य दावेदार
दुर्लभ थापा र कवीर राणा हुनुहुन्थ्यो । उहाँहरु दुवै युवापुस्ताका नेता ।
दुर्लभजीलाई उठाउँदा कवीरजीको सपोर्ट नहुने र कवीरजीलाई उठाउँदा
दुर्लभजीको सपोर्ट नहुने स्थिति
बन्न सक्छ भन्ने आँकलन गरिएको थियो ।
यस मानेमा केन्द्रबाटै उम्मेदवार पठाउँदा दुवै पक्षलाई मिलाएर लैजान सकिन्छ भन्ने आशाले उहाँलाई पठाएको हुनुपर्छ ।
तपाईले पैसाको बलमा तपाईंले चुनाव जित्न खोजेको आरोप
ढुंगानाजीले हामीसँगको कुराकानीमा लगाउनुभएको छ । नेमकिपाकी उम्मेदवार
अनुराधा थापामगरले पनि तपाईका बारेमा त्यसै भन्नुभयो । पैसाको खोलै बगाउँदै
हुनुहुन्छ कि क्या होे ?
‘काँक्रा चोरेर आफू खाने बियाँ चैं अर्काको मुखमा फाल्दिने’ भनेजस्तो
कुरा हो यो । अहिले दमननाथ ढुंगानाकै सम्वन्धमा राष्ट्रिय अन्तर्राष्टिय
लगानी छ भन्ने आइरहेको छ । तर, हामी विनाआधार उहाँहरुले जस्तो तल्लोस्तरमा
आरोप लगाउँदैनौं ।
नेमकिपाका साथीहरुले चाहिँ विशेषगरी हामीले भक्तपुरको भजनमण्डलीहरुलाई
गरेको सहयोगलाई लिएर प्रश्न उठाउनुभएको हो । हामीले भुकम्पका बेला ‘मानवीय
आस्था नेपाल’ भन्ने सामाजिक संस्था निर्माण गरेका थियौं । त्यसको संरक्षक म
हुँ ।
त्यो संस्थामार्फत भुकम्पका बेला विभिन्न ठाउँमा राहत वितरण गर्यौं ।
२१ सय भन्दा बढी टहराहरु निर्माण गरेर जनतालाई बाड्यौं । प्रत्येक मृतकका
परिवारलाई साढे सात हजारका दरले सहयोग गर्यौं । अहिले पनि ३२० बालबालिका
हामीले पढाइरहेका छौं ।
त्यो संस्थाले एक महिनाअघि भक्तपुर नगरभित्र २२ वटा सांस्कृतिक समूह र
मध्यपुरभित्र ४५ वटा सांस्कृतिक समूहलाई बाजागाजा खरिद गरेर वितरण गरेको
थियो । त्यो कुरा उहाँहरुले उठाउनुभएको हो ।
कति मूल्यको सामान बाँड्नुभयो ?
धिमेबाजाको ३ हजार ३५ सय पर्छ । अर्को ढोलक टाइपको हुन्छ । त्यसको ५५ सय
६ हजार पर्छ । यसरी मोटामोटी १० हजार पर्ने बाजाहरु ६७ वटा सांस्कृतिक
समूहलाई वितरण गरेका थियौं ।
अलिकति जग्गा धितो राखेर बैंकबाट लोन लिँदैछु । आधाआधी पैसा
त्यसबाट जुट्छ । बाँकी आधा चाहिँ साथीभाई, आफन्तबाट सहयोग प्राप्त हुने
अपेक्षा गरेको छु
चुनावको मुखमा यस्तो सहयोग गर्नुले त मतदातालाई प्रभाव पार्न खोजेकै देखियो नि ?
होइन, यो हाम्रो रेगुलर कार्यक्रम अन्तरगतकै सहयोग हो । अघिल्लो वर्ष
पनि वृद्धवृद्धालाई प्रत्येक वडामा वडामा ५-७ सयका दरले कम्बल वितरण गरेका
थियौं । नाकाबन्दीका बेला १२-१५ लाखको औषधि प्रत्येक हेल्थपोष्टहरुलाई
वितरण गरेका हौं । नियमितरुपमा यस्ता काम गरिरहेका छौं । अघिपछि प्रश्न
उठेन । यो पटक उठ्यो । उहाँहरुले प्रश्न उठाएपछि अहिले मानवीय आस्था
नेपालका गतिविधिहरु रोकिएका छन् ।
हालै नेमकिपाले बाँसुरी प्रतियोगिता भनेर प्रत्येक समूहलाई पुरस्कार
प्लस आर्थिक वितरण पनि गरेको छ । तर, त्यसमा हामीले प्रश्न उठाएका छैनौं ।
किनभने सामाजिक कार्यलाई हामीले किन अन्यथा लिने ?
नढाँटी भन्नुहोस् त यो चुनावमा कति खर्च गर्ने योजना बनाउनुभएको छ ?
अघिल्लोचोटिको चुनावमा २७ लाख रुपैयाँ मोटामोटी खर्च भएको हो । यसपालि २
वटा नगरपालिकाका १९ वटा वडा पर्छन् । लगभग एउटा वडामा २ लाखका दरले ३८-४०
लाख खर्च होला भन्ने अनुमान छ मेरो । आचारसंहिताले २५ लाख भन्छ, तर २५
लाखले धान्ने स्थिति छैन ।
धेरै खर्च चैं केमा हुँदोरहेछ ?
मुख्य खर्च हुने नै प्रचार-प्रसारमा हो । १९ वटा वडामा २-२ वटाका दरले
सम्पर्क कार्यालय खोलेको छु । त्यसको भाडा तिर्नुपर्यो । त्यसपछि रेगुलर
भेलाहरु पनि निकै खर्चिलो भइरहेका छन् । पहिलेजस्तो चौरमा कार्यक्रम गर्ने
चलन छैन । पार्टी प्यालेसमा गर्नुपर्यो । त्यसको भाडा तिर्नुपर्यो । एउटा
सामान्य कार्यक्रम गर्दा ४-५० हजार खर्च हुन्छ ।
यत्रो खर्च कसरी जुटाउनुभएको छ ?
अलिकति जग्गा धितो राखेर बैंकबाट लोन लिँदैछु । आधाआधी पैसा त्यसबाट
जुट्छ । बाँकी आधा चाहिँ साथीभाई, आफन्तबाट सहयोग प्राप्त हुने अपेक्षा
गरेको छु ।
पार्टीले पैसा दिँदैन ?
अहँ दिँदैन । पहिलेका चुनावमा स्थानीय कमिटीहरुले आर्थिक संकलन गर्थे ।
तर, अहिले स्थानीय कमिटीहरुले पैसा नउठाउने नीति बनाएका छन् । अहिले त
कार्यालय व्यवस्थापनदेखि सबै कुरा आफैंले गर्नुपर्छ ।
चन्दा त उठाउनु भएको होला नि ?
मैले कसैसँग चन्दा नमाग्ने नीति बनाएको छु । देश-विदेशमा रहनुभएका
साथीभाइ, आफन्त ज-जसले सम्झेर जति दिनुहुन्छ हात थाप्ने, तर कसैसँग पनि
पैसा लेउ भनेर नमाग्ने । मैले युवा संघ चलाएको पनि यसैगरी हो । अघिल्लो
चुनाव लडेको पनि यसैगरी हो । चन्दा म कसैसँग पनि लिन्न ।
बरु, नेमकिपाका साथीहरुले प्रत्येक स्कुल-स्कुलमा, अफिस-अफिसमा चिठी
दिएर पैसा उठाइरहनुभएको छ । ईट्टाभट्टादेखि खुद्रा पसलेसम्म सबैसँग पैसा
मागिरहनुभएको छ । त्यही भएर उद्योगी व्यवसायीको प्रतिक्रिया नकारात्मक
आएपछि त्यसको रीस हामीप्रति पोखेको हुन सक्छ ।
तपाईं हिजोका दिनसम्म माओवादीको खुंखार आलोचक हुनुहुन्थ्यो ।
वाइसीएललाई काउन्टर दिन बनेको युथफोर्सको अध्यक्ष नै बन्नुभयो । आफ्नो
आत्मकथामा पनि तपाईंले सर्वत्र माओवादीको खेदो गर्नुभएको छ । आज वाम
गठवन्धनका नाममा त्यही माओवादीको बुई चढेर भोट माग्न जाँदा हीनताबोध भएको
छैन ?
एउटा सामाजिक रिलेसन हुँदोरहेछ, अर्को राजनीतिक रिलेसन । सामाजिक
रिलेसनको सन्दर्भमा दुई परिवारको झगडा भयो भने लामो समयसम्म बोलचालै बन्द
हुने, सहज हुन निकै समय लाग्ने हुन्छ । तर, राजनीतिमा स्थायी सत्रुता हुँदो
रहेनछ ।
मेरो निर्वाचन क्षेत्रमा माओवादीको धेरै ठूलो भोट छैन । ३
हजारदेखि चार हजारको रेसियोमा होला । यद्यपि यसले मेरो जितलाई अझै सहज
बनाएको छ
हिजो माओवादीले अधिनायकवादी शैली र तौरतरिका अपनायो र वाइसीएलका नाममा
ज्यादती गर्यो । त्यसलाई तह लगाउने ऐतिहासिक क्षणको जिम्मेवारी मैले
निर्वाह गर्नुपरेको थियो ।
आजको माओवादी त्यो खालको टस्सल लिनुपर्ने स्थिति छैन । पुरानो रीसइबी
भुल्नुपर्ने अवस्था आएको छ । एमाले माओवादी मिलेर कम्युनिष्टको ६० प्रतिशत
मत होल्ड भएको छ । अघिल्लो २८ वर्षको हिसाब गर्ने हो भने कम्युनिष्टहरु
फुटेका कारणल झण्डै दुई तिहाई समय कांग्रेसले शासन गरेको स्थिति छ ।
वास्तविक जनताको प्रतिनिधित्वको लागि, राजनीतिक स्थिरता, समृद्धि र
विकासका लागि दुई पार्टीबीचको तालमेल र एकीकरणको योजनालाई सहज ढंगले
स्वीकार्नुपर्छ । सिंगो राष्ट्र निर्माणको कुरा गर्दा हामीले पुरानो
रीसइबीलाई बिर्सनुको विकल्प छैन । अहिले सच्चिएको माओवादीसँगको सम्वन्ध हो
नि त ।
मेरो निर्वाचन क्षेत्रमा माओवादीको धेरै ठूलो भोट छैन । ३ हजारदेखि चार
हजारको रेसियोमा होला । यद्यपि यसले मेरो जितलाई अझै सहज बनाएको छ ।
एमाले पार्टी अध्यक्ष केपी ओलीसँग तपाईको प्रगाढ सम्वन्ध रहेको बताइन्छ । कसरी उहाँसँग यति नजिक हुनुभयो ?
उहाँको र मेरो सम्वन्ध मैले युवा संघको नेतृत्व गर्ने बेलादेखि गाढा
भएको हो । त्योभन्दा अगाडि म पार्टीका नेताहरुसँग खासै नजिक थिइनँ । लो
प्रोफाइलमा बसेर काम गर्न रुचाउँथेँ । तर, त्यो कालखण्डमा अलिकति माओवादी
अधिनायकवादविरुद्ध संघर्ष गर्ने दौरानमा हाम्रो अध्यक्षज्यूको विचार र तल
हाम्रो कार्यक्रमको बीचमा निकै सामीप्य र तालमेल मिलन गयो । त्यहीबेला
उहाँसँग धेरै नजिक भएँ ।
उहाँसँग जति नजिक भएँ, त्यति नै उहाँको आदर्श बुझ्दै गएँ । उहाँलाई
पार्टी अध्यक्ष बनाउने र प्रधानमन्त्री बनाउने अभियानमा म निकै
सक्रियतापूर्वक लागें । म आफैं केन्द्रीय सदस्य हारेर पनि उहाँलाई अध्यक्ष
बनाउँदा खुशी भएँ । अहिले पनि उहाँको सैद्धान्तिक, वैचारिक स्पष्टता र
राष्ट्रभक्तिको म ठूलो प्रशंसक हुँँ । एक स्वप्नद्रस्टाका रुपमा पनि
उहाँलाई देशले चिनेको छ ।
अर्को उहाँको विशेषता के छ भने उहाँ आफ्ना पार्टीका नेता कार्यकर्तालाई
आफ्नै परिवारका सदस्यजस्तो व्यवहार गर्नुहुन्छ । अभिभावकत्व दर्शाउनुहुन्छ ।
उहाँको स्वाभावले गर्दा पनि आम युवा विद्यार्थीमाझ उहाँ निकै लोकप्रिय
हुनुहुन्छ ।
भक्तपुर २ मा तपाईंका अबका एजेन्डा के छन् ?
अहिले हामीले ‘आत्मनिर्भर घर र व्यवस्थित शहर’ भन्ने नारा अघि सारेका
छौं । व्यवस्थित शहर भनेको गुणस्तरीय खानेपानी, व्यवस्थित सडक र ढलसहितको
व्यवस्थित आवास भनेको हो । आत्मनिर्भर घर भनेको चाहिँ लोडसेडिङ हुँदा
सोलारबाट बत्ति बाल्न सकिने, पानीको अभाव हुँदा पनि आकाशे पानी संकलनबाट
पानी उपयोग गर्न सकिने, सड्ने र नसड्ने फोहोर बनाएर करेसा र कौसीमा तरकारी र
फलफुल रोप्ने घर भनेको हो ।
मानव मलमुत्र तथा जनावरको मलमुत्र प्रयोग भएको गोबरग्यास प्लान्ट
स्थापना गर्ने ताकि एलपी ग्यासको अभाव हुँदा पनि त्यो घरमा भात पाकोस् ।
योखालको आत्मनिर्भर घरको अवधारणा ल्याएका छौं ।
प्रत्येक वडामा महिलाहरुका लागि उद्यम घरको अवधारणा पनि ल्याएका छौं ।
कमसेकम महिलाहरु दिउँसो टीभी हेरेर बस्नुभन्दा उद्यम घरमा बसेर केही
उद्यमको काम गरुन् ।
त्यसपछि ज्येष्ठ बाआमाका लागि आश्रमस्थलको कुरा गरेका छौं । एउटा वडामा
गरिबका छोराछोरी पढ्न सक्ने नमूना सामुदायिक स्कुलको योजना बनाएका छौं ।
नमूना स्वास्थ्य केन्द्रको योजना बनाएका छौं । भक्तपुरको जीवित संस्कृतिलाई
बचाउने र धार्मिक पर्यटनलाई अगाडि बढाउने योजनाहरु पनि छन् । नगरकोट,
दक्षिण बाराही, निलबाराही, रानीकोट अनन्तलिंग, नैचाल, काँक्राबाँरी जस्ता
ठाउँहरु छन् तिनीहरुलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरिनेछ । यीनै विषय
हाम्रा स्थानीय एजेन्डा हुन् ।
अन्त्यमा, तपाईंलाई धेरैले गुण्डाको संरक्षक भनेर पनि चिन्छन् ।
डन चरीदेखि परशुराम बस्नेतसम्मको बचाउमा तपाईंले बोल्नुभएका कुराहरु
मतदाताले पक्कै बिर्सेका छैनन् होला । यसलाई कसरी चिर्नुहुन्छ ?
यी उहिलेका कुरा भइसके । युथफोर्स बनाएर लड्ने दौरानमा कतिपय सन्दर्भमा
यस्ता आरोप लागेका हुन् । म मन्त्री भएदेखि अहिलेसम्म मैले जे-जे काम
गरिरहेको छु, त्यसले मेरो बेग्लै छवि बनिसकेको छ ।
जहाँसम्म पर्शुराम बस्नेतको सवाल छ, उहाँ एउटा राजनीतिक व्यक्ति
हुनुहुन्छ । युवा संघको सचिव हुनुहुन्छ । अर्को ढंगले उहाँलाई जे आरोप
लगाइयो, त्यसमाथि अदालतदेखि हरेक ठाउँमा बहस भयो तर कतै पनि पुष्टि भएको
छैन । आग्रहपूर्ण ढंगले आरोप लगाइएको छ ।
चरीको विषयमा हामीले प्रष्ट भनेका थियौं । माओवादी उद्दण्डताले सीमा
नाघेका बेलामा बालाजु क्षेत्रभित्र भएका ज्यादती तोड्न विभिन्नखालका
शक्तिहरुको सहयोग लिने सम्बन्धमा उनको पनि सहयोग लिएका थियौं । मेरो
उद्देश्य चरीलाई सच्याउने थियो तर, नसकेको हो ।