Dec 7, 2017

अछाम लुङग्रामा कांग्रेसद्वारा फर्जि मत हाल्दा झडप


२१ मंसिर, अछाम । अछामको चौरपाटी गाउँपालिका- ५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।
Advertisment
नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा र एमालेका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको स्थानीय धिराजन खड्काले जानकारी दिए ।
झडपमा तीन जना घाइते भएको बताइएको छ । घाइतेको पूर्ण विवरण आउन बाँकी छ । मतदाताहरु स्थानीयवासीको घरमा लुकेर बसेको बताइएको छ ।
नेपाली सेनाको हेलिकोप्टरले उक्त मतदान केन्द्रमा हवाइ गस्ती गरिरहेको छ । अहिले स्थिति शान्तिपूर्ण छ ।
अछामको प्रदेशसभा १ -१) का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको घर सोही मतदान केन्द्रमा पर्दछ ।

स्याङ्जामा कांग्रेसले ४ बुथ कब्जा गरेको बाम गठबन्धनको आरोप

बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालमाथि आक्रमण, पुनः मतदानको माग

२१ मंसिर, स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।
Advertisment
शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको आरोप छ ।
स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ र बाम गठबन्धनबाट एमाले नेतृ पद्मा अर्यालबीच प्रतिस्पर्धा भइरहेको छ । चापाकोट नगरपालिकाको सेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गर्न लागिएको हो ।
जनसक्रिय प्रावि, चितापोखरी र कालिका आधारभूत स्कूल तीनपिप्लेमा प्रहरी र निर्वाचन आयोगका कर्मचारीकै सामुन्ने कांग्रेस कार्यकर्ताले मतदाताको हातको मतपत्र खोसेर स्वस्तिक छाप लगाएको प्रत्यक्षदर्शीले बताए ।
त्यस्तै, मल्याकोट मतदानकेन्द्रमा बुथ कब्जा भइरहेको सुनेपछि रोक्न पुगेकी एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा प्रहार भएको छ ।