सुनसरी, २९ कात्तिक–सुनसरी क्षेत्र नं ३ की एमाले उम्मेदवार भगवती चौधरीको परिवारमाथि कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले धम्की दिएको चौधरी परीवारले वताएको छ । चुनाव प्रचार अभियान नरोके परिवारका सदस्यलाई नै सिध्याइदिने भन्दै धम्की आएको चौधरीका पारीवारिक सदस्यले वताए । 
‘आक्रामक रुपमा चुनावी अभियान नचलाउनु, छोराछोरी रपरिवारका सदस्यको माया भए चुप लागेर बस्नु, अन्यथा जेसुकै हुनसक्छ भनिरहेका छन्’ चौधरी परिवारका सदस्यले भने, ‘तर, गुण्डागर्दीबाट डराएर भाग्ने पक्षमा छैनौं ।’ गच्छदार र चौधरी सुनसरी ३ मा कांग्रेस र एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
 गत चुनावमा झिनो मतान्तरले चौधरीलाई पराजित गरेका गच्छदार यसपटक पनि सोही क्षेत्रमा उनीसँग प्रतिस्पर्धामा रहेका हुन् । ग्रामीण महिला सशक्तिकरणमा सक्रिय रहेकी एमाले केन्द्रीय सदस्य चौधरी सुनसरीकी लोकप्रिय नेतृ हुन् भने गच्छदार यसअघि लोकतान्त्रिक फोरमको अध्यक्ष भई आफ्नो पार्टीलाई कांग्रेसमा विलय गराएका नेता हुन् । 
गत संविधानसभा चुनावमा मतगणनाको क्रममा गच्छदारलाई पछि पार्दै आएकी चौधरी अन्तिममा आएपछि पराजित भएकी थिइन् । चौधरीले मतगणनामा धाँधली गरेर गच्छदारलाई जिताएको भन्दै मुद्दा पनि हालेकी थिइन् । तर, गच्छदार राष्ट्रिय नेता भएकाले मुद्दाको सुनुवाई भएन । 
यता प्रदेश २ का एमालेका संयोजकसमेत रहेका एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट बढे पनि सरकारले कुनै ब्यवस्था मिलाएको छैन । पछिल्लो पटक वाम उम्मेदवारहरुमाथि श्रृंखलावद्ध बम आक्रमण हुँदै आएका छन् ।  सरकारले कांग्रेस उम्मेदवारलाई भने सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ ।