काठमाडौं, २9 कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले विपक्षीप्रति फाँसिवादी नीति र व्यवहार गरेको भन्दै त्यसप्रति आक्रोस व्यक्त गर्नुभएको छ । राज्यकोषको ब्रम्हलुट नगर्न पनि सरकारलाई चेतावनी दिनुभएको छ । 
काठमाडौं जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका वाम उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा मंगलबार बोल्दै उहाँले सरकारलाई निर्वाचन सम्पन्न गराउनेबाहेकका अन्य कुनै पनि सम्झौता उल्टाउने र राज्यकोषको ब्रम्हलुट गर्ने काम नगर्न चेतावनी दिनुभएको हो ।
‘अहिले सरकारले विपक्षीप्रति फाँसिवादी नीति अख्तियार गरेको छ । यसप्रति म खेद ब्यक्त गर्दछु’ उहाँले देशका बिभिन्न भागमा एमाले र वाम उम्मेद्वारमाथि भएका आक्रमण र विपक्षी दलप्रति सरकारका व्यवहार उल्लेख गर्दै भन्नुभयो ।  
सरकारले अहिले निर्वाचनलाई निस्पक्ष र शान्तीपूर्ण सम्पन्न गर्ने खालका मात्र काम गर्नुपर्नेमा त्यसबाहिर गएर पहिले गरेका सम्झौता उल्टाउने र नयाँ गर्ने जस्ता कार्य गर्न नसक्ने बताउनु भयो ।‘सरकारले २३ करोड कार्यकर्तालाई बाँडेको छ । सरकारमा बसेर उहाँहरु ब्रम्हलुट मच्चाइरहनु भएको छ । यो कसलाई पोस्दै हुनुहुन्छ ? यो बाँडेर के हुन्छ ? जनताले अव बुझेका छन’ ओलीले भन्नुभयो ।  
नेपाली कांग्रेसले २०४६ सालपछि दुईपटक बहुमत ल्याएको तर मुलुकलाई सम्हाल्नै नसक्ने ठाउँमा पुर्याएको भन्दै अव देशमा वामहरुको स्थायी सरकार बन्ने र स्थायित्वतर्फ मुलुक अघि बढ्ने बताउनु भयो । ‘२०४६ पछि दुइपटक कांग्रेसले बहुमत पायो । पहिलो पटक ल्याउँदा ३८ वटा उद्योग बेचेर खायो, निजिकरणका नाममा युवाहरुलाई बेरोजगार बनायो । ०५६ मा यस्तो बिगार्यो कि सम्हान सक्ने अवस्था पाएन’ उहाँको भनाई थियो । 
वाम तालमेलपछि  देशभर पराजित हुने अवस्था आएपछि र वामशक्तिको बिरोधमा केही एजेण्डा नभएपछि अहिले कांग्रेसले अधिनायकवाद आउने भन्दै  गलत प्रचार गरिरहेको उल्लेख गर्दै त्यसको जवाफ जनताले दिइरहेको उहाँले बताउनुभयो । वाम तालमेलले देशभर सकारात्मक प्रभाव पारेको, कार्यकर्ता उत्साहित भएको र आम नागरिकमा स्थायी सरकार पाउने बिश्वास बढेकोले त्यसलाई सानातिना समस्याले नछुने बताउनु भयो ।  
‘दुबै पार्टीका कार्यकर्तामा असाधरण खुशी छाएको छ । आम जनतामा स्थायित्व पाउने भन्ने आत्माबिश्वास पलाएको छ । हामी यसलाई तलमाथि हुन दिदैनौं’ ओलीले भन्नुभयो,‘यतिबेला महान उदेश्य लिएर हामी अगाडि बढ्दैछौं । संगै बस्दा, एउटै कमिटीमा काम गर्दा सानातिना समस्या आउन सक्छन् । त्यतातिर अलमिलनु हुँदैन ।’ 
अहिलेको प्रमुख मुद्दा भनेको देश कता जाने, कुन बाटोमा जाने भन्ने हो भन्दै त्यसका लागि वाम एकतापछि प्राप्त हुने शक्तिबाहेक अर्को कुनै शक्तिले काम गर्न नसक्ने उहाँको भनाई थियो । ‘देशभक्तितिर जाने वा लम्पसरवादतिर, शान्ति÷स्थायित्वतिर जाने कि र अशान्ति÷अस्थिरता तर्फ जाने ? राष्ट्रिय हितको पक्षमा वा राष्ट्रका बिरुद्धमा ? अव यो प्रष्ट हुनुपर्छ’ उहाँले भन्नुभयो । 
एमाले राष्ट्रिय हित, सामाजिक न्याय, समानता र समृद्धिको पक्षमा रहेको र त्यसको नेतृत्व एमाले नेतृत्वको वाम तालमेलले गरेको उल्लेख गर्दै देशभर उठेका विकास र समृद्धि पक्षधर उम्मेद्वारलाई बिजयी गराउन आग्रह गर्नुभयो । 
‘हामी बिकास र समृद्धिको नेतृत्व गरिरहेका छौं । हामीले व्यवहारिक परिणाम कस्तो ल्याउँछौं, त्यो हेर्ने हो । को कहाँ छ, कुन पार्टीको भनेर हेर्ने होइन । माधव नेपाल काठमाठौं २ का साझा उम्मेद्वार हुनुहुन्छ, हितमान शाक्य काठमाडौं १० का  साझा उम्मेद्वार हुनुहुन्छ । हामी साझा उदेश्य लिएर अघि बढेका छौं । अहिले सानातिना कुरामा अलमलिने होइन । त्यसैले सबैले जित्नुपर्छ, जिताउनुपर्छ ।’ ओलीले भन्नुभयो । काठमाडौंका सबै १० प्रतिनिधिसभा सदस्य र २० प्रदेशसभा सदस्यमा वाम तालमेलले जित्नुपर्ने भन्दै त्यसमा लाग्न आग्रह गुर्नभयो ।  
‘अव सबैमा हामी लिड गर्छौं । देश टुक्रयाउने पक्षमा बोल्नेलाई अव काठमाडौंवासीले भोट हाल्दैनन् र  देशलाई एकताबद्ध गर्नुपर्छ भन्नेलाई  मत दिन्छन् ।देशलाई राम्रो बनाउनेलाई मत हाल्छन । हाल्न हामीले आग्रह गर्नुपर्छ । अव देश बनाउन भोट हाल्ने हो । देश मिलाउन भोट हाल्ने हो’ ओलीले भन्नुभयो । 
देश हाँक्ने सकल्पसहित दुइ पार्टी मिलेर अघि बढेको अवस्थामा कुनै पनि आशंका नगर्न  र त्यसमा नपर्न उहाँले अपिल गर्नुभयो । ‘चुनौती छन्, भ्रमका चुनौती छन् । ती बलिया होइनन, ती सत्यमा आधारित छैनन् । बिभिन्न प्रकारका नयाँ नयाँ भ्रम फैलाइएका छन् । यसमा चनाखो हुनुपर्छ, म आग्रह गर्छु’ उहाँको भनाई थियो । 
विविधताका विचमा एकता र पारस्परिक सद्भाव कायम गर्नुपर्छ भन्ने एमालेको नीत र व्यवहारको पक्षमा जनमत रहेको भन्दै बिद्धेषको खेती गर्ने र द्वन्द्वको व्यवसाय गर्नेहरुलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
‘पहिला एक राष्ट्र, एउटा देश, एउटा भाषा, एउटा नेपाली, एक नेपाल । त्यसपछि हामी कतै पूर्ब, कतै पश्चिम, बिभिन्न जाती भाषाका हौंला तर सामाजिक एकताका लागि अघि बढछौं । हामी समृद्धिका निम्ति अघि बढ्छौं ।  संयुक्त राष्ट्रसंघको दिगो बिकास लक्ष्यका साथ अघि बढ्छौ’ ओलीले भन्नुभयो ।