बिनु पोखरेल 
चुनावको मुखमा राजनीतिक दल र उम्मेदवारहरुले आफ्नो प्रचारका लागि गीतलाई निकै ठूलो सहयोगी मान्ने गरेका छन् । त्यसरी बाहिर ल्याइएका गीतहरु कति लोकप्रिय हुन्छन् त कति हुँदैनन् पनि । तर, गत स्थानीय निर्वाचन ताका एमालेको प्रचारमा युट्युव मार्फत सामाजिक सञ्जालमा भाइरल भएको ‘मै पनि एमाले, सै पनि एमाले’ गीतले भने चर्चाको शिखर नै चुम्यो । बद्रि पंगेनी र प्रिया भण्डारीले स्वर दिएको उक्त गीतका संकलक एकनारायण भण्डारीलाई पनि यो सरप्राइज भएको छ । सही तथ्यमा आधारित भएर गीत संकलन गरेपछि त्यसले मान्छेको हृदय छुनेरहेछ भन्ने उनले यसपछि महसुस गरे ।

कुनै राजनीतिक दलसँग आवद्ध नरहेका भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको वजेट वक्तब्य हेरेर र एउटा सार्वजनिक बसमा दुई युवाहरुले गरेको संवादवाट प्रभावित भएर यो गीत लेखेका रहेछन् । गीत वजारमा आएपछिको एउटा रमाइलो घटना पनि सुनाए । ‘कांग्रेसका उम्मेदवारहरु पनि यो गीत मन परेर अरुले नसुन्नेगरी सानो भोल्युम बनाएर आफैं सुन्दारहेछन्’ भण्डारीले भने, ‘यो कुरा सुनेपछि मलाई पनि मज्जा आयो ।’
लोकप्रिय आधुनिक र लोकगीत लेखिसकेका भण्डारीलाई चुनावी गीत यति लोकप्रिय होलाजस्तो लागेको रहेनछ । गायन र संगीत तथा गायक गायिकाका कारण पनि गीत लोकप्रिय भएको उनको अनुभव छ ।

उनलाई यो गीत तयार गर्न झण्डै एक महिना लागेको थियो । एमाले उपमहासचिव विष्णु पौडेल मार्फत उनलाई यो गीत लेख्ने अफर आएको रहेछ ।  ‘म त प्रोफेसनल गीत लेख्ने मान्छे न परेँ । अरुबाट जस्तै मलाई एमालेबाट  पनि चुनावी गीत लेख्ने अफर आयो । बिष्णु पौडेलले गायक साथी बैकुण्ठ महत मार्फत मलाई  खवर पठाउनुभयो । उहाँ अर्थमन्त्री हुँदा प्रस्तुत गरेको वजेट वक्तब्यको पुस्तक पनि पठाउनु भएको रहेछ । मैले त्यो वजेट वक्तब्य सवै पढेँ’ गीतको रचनागर्भ सुनाउँदै भण्डारीले वेलीविस्तार लगाए ।

वजेट वक्तब्य पढेपछि पनि कसरी गीत सुरु गर्ने भन्ने दुविधानमा उनी थिए । तर, एकदिन गाडीमा यात्रा गर्दै गर्दा दुईजना युवाहरुको संवाद उनले सुने । त्यसैबाट उनले गीत निकाले । ‘पब्लिक बसको सिटमा बसेर यात्रा गर्दै थिएँ, दुई युवा अगाडिको सिटमा कुरा गरिरहेका थिए ।  हेर्दा अफिसर जस्ता लाग्ने उनीहरु गपिंmदै थिए । सँगै बसिरहेका बेला के गफ थियो थाहा भएन । तर एउटाले अर्कोलाई धाप मार्दै भन्यो– ‘क्या यार म पनि एमाले, तिमी नि एमाले, अब के बन्दैन देश ?’ यो संवादले मेरो मनमा गीतको हरफ जन्म्यो– ‘मै पनि एमाले, सैं (साथी) पनि एमाले ।’ त्यसपछि बेलुका कोठामा आएर लेख्न बसेँ । एमालेको सरकारले बजेटमा ल्याएको कुरा बृद्धभत्ता, मिर्गाैला रोगीलाई निशुल्क स्वास्थ्यजाँच, स्वास्थ्य विमा, विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर उद्यमका लागि ऋण दिने ब्यवस्था, देशमै उद्योग कलकारखाना खोलेर विदेशिएकालाई स्वदेशमै रोजगारी दिनेकुरा, सडकलाई फराकिलो बनाउन बजेट छुट्याएको कुरालाई समेटेर गीतको हरफ तयार गरेँ’ उनले गीत तयार गर्दाको विवरण सुनाए ।
हजुरआमा भन्नुहुन्छ सूर्यमा भोट हाल्ने,
हजुरबुबा भन्नुहुन्छ एमाले हो पाल्ने ।
बिदेशबाट भोट हाल्न आउछु भन्छन् दाइले,
एमालेकै झण्डा बोकी हिंडेको छ भाइले ।
भोट केमा सूर्यमा, सवै भन्न थाले,
सहि पनि एमाले मै पनि एमाले । 

यस्तो हरफ तयार गरेपछि उनले भोलिपल्ट अलिअलि शब्द फेरे गीत तयार भयो । संगीत पनि गरे । ‘मलाई मात्र हैन सुनाउँदा साथीहरुले पनि ओहो कस्तो राम्रो भन्नथाले’ उनले भने, ‘गीत तयार भयो तर, गाउन कसलाई दिने भन्ने भैरहेको थियो ।’

गीत रेकर्डिङकै सिलसिलामा भण्डारी स्टुडियो पुगे । त्यहाँ उनको बद्रि पंगेनीसँग भेट भयो । भण्डारीले एमालेको चुनावी गीत तयार भएको कुरा पंगेनीलाई भने र गीतको टुक्रा पनि सुनाए । बद्रिले तत्कालै उत्साहि हँुदैं आफूले उक्त गीत गाउने वताए । केटीको आवज दिने मान्छे भनेर प्रिया भण्डारीलाई बद्रिले नै रेफर गरे  । त्यसपछि बद्रि पंगेनी र प्रियाको स्वरमा यो गीत रेकर्ड गराइयो ।
कुनै राजनीतिक दलसँग आवद्ध नरहेका भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको वजेट वक्तब्य हेरेर र एउटा सार्वजनिक बसमा दुई युवाहरुले गरेको संवादवाट प्रभावित भएर यो गीत लेखेका रहेछन् ।
भण्डारीलाई यो गीत यति हिट होला भन्ने लागेको रहेनछ । भन्छन्– ‘भिडियो पनि नबनाइएको, कुनै चुनावी गीत, त्यो पनि पार्टीको । यति सुनिएला र यति हिट होला भनेर सोचेको पनि थिइएन  तर, यो गीतमा सत्यता, सहज तरिकाले पस्कन सकेछु भनेर खुसी लागेको छ ।’  भण्डारीले लेखेका गीतहरुमा यो धेरै सुनिएको गीत मध्ये एक हो ।

स्याङजा घर भएका भण्डारीका लोकगीत देखि आधुनिक गीतसम्म हिट छन् । अहिलेसम्म एक हजार भन्दा धेरै गीत रचना र संगीत गरेका उनले ‘तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ’ ‘मलाई जसले पनि किन रुवाउँछ, सायद मेरो आँखामा आँशु सुहाउँछ’ जस्ता अधुनिक र ‘जिम्मल बाको आँगनीमा नारायण पूजा लाको’, ‘सुपारी चाम्रो’, ‘मन परेरै हो कि सबलाई दियौ हातैमा, मलाई सालको पातैमा’, ‘हातमा रातो झोला’, ‘लालुपाते नुह्यो भुईंतिर’ जस्ता हिट लोक गीतहरु रचना गरिसकेका छन् ।
 एकनारायण भण्डारीको शब्द संकलन तथा बद्रि पंगेनी र प्रिया भण्डारीले स्वर दिएको उक्त गीत (भिडियो )