११ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, कोशी इटहरीमा भएको ६१
करोड रुपैयाँ अनियमिततामा संलग्न आरोपित टिकाराम अधिकारी ५० लाख रुपैयाँ
धरौटीमा रिहा भएका छन् । विशेष अदालतको आइतवारको थुनछेक आदेशले कारागार चलान भएका अधिकारी एक
दिनपछि ५० लाख धरौटी बुझाएर सोमवार साधारण तारेकमा रिहा भएका हुन् ।
आइतवार अदालतका न्यायाधीशत्रय बाबुराम रेग्मी, चण्डीराज ढकाल र
नारायणप्रसाद ढकालको संयुक्त इजलासले उनीविरुद्ध ५० लाख रुपैयाँ धरौटी माग
गरेको थियो । धरौटी बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान भएका थिए ।
सोमवार उक्त धरौटी रकम बुझाएपछि रिहा भएका अदालतका प्रवक्ता नगेन्द्रकेशरी
शाहले जानकारी दिए ।
राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
उनीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगोदावी माग गर्दै गत ४ असारमा मुद्दा
दायर गरेको थियो ।
तत्कालीन लेखा अधिकृत अधिकारीसहित कार्यालयका आठ जना कर्मचारीविरुद्ध गत
४ असारमा आयोगले अदालतमा मुद्दा दायर गरेको थियो । संलग्न अधिकारीहरूले
कुल ६१ करोड २१ लाख रुपैयाँ राजश्व हिनामिना गरेको अख्तियारको आरोपपत्रमा
उल्लेख छ ।
अनियमिततामा संलग्न रहेका आरोपित अन्य अधिकारीहरू भने अझै वयानका लागि अदालतमा उपस्थित भएका छैनन् । अख्तियारले अनियमिततामा संलग्न रहेको भन्दै कार्यालयका उपसचिवत्रय
रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख, विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख
र नयराज नेपालसँग २५ करोड १३ लाख रुपैयाँ बिगो दावी गर्दै अदालतमा मुद्दा
दायर गरेको थियो ।
सोही अनियमितताका आरोपित लेखा अधिकृत कुमारबहादुर कटवालसँग २ करोड १४
लाख, लेखापालहरू सुरेश अधिकारीसँग ६१ करोड २१ लाख, देवराज नेपालसँग ४५ करोड
६१ लाख र रुद्रप्रसाद दाहालसँग पनि अख्तियारले २१ करोड ६३ लाख रुपैयाँ
बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।
आरोपितमध्ये उपसचिवद्वय दाहाल र पौडेलले भने अझै म्याद बुझ्न अस्वीकार गरेको अदालतले जनाएको छ ।
उनीहरूले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ को अवधिमा उक्त परिमाणको राजश्व हिनामिना गरेका थिए ।
No comments:
Post a Comment