Nov 27, 2017

नतिजा के आउला थाहा छैन, तर काँग्रेसका चार नेताले गरिसके चुनावपछि प्रधानमन्त्री बन्ने दाबी

११ मंसिर, काठमाडौं ।  दुई हप्ताअघि वहालवाला प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा चुनावी माहोल तयार गर्न आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा पुगे । देउवाले त्यहाँ दाबी गरे, ‘मेरा प्रतिद्वन्द्वीले जिते सांसद मात्रै, मैले जिते भावी प्रधानमन्त्री ।’ उनको भनाईको सिधा अर्थ थियो, निर्वाचनपछिको भावी प्रधानमन्त्री म नै हुँ । देउवाले अझै अगाडि भन्न भ्याए, ‘ज्योतिषले सात चोटी प्रधानमन्त्री बन्छस् भनेको छ ।’ अहिलेसम्म चारपटक प्रधानमन्त्री बनिसकेका देउवाले अझै तीनपवटक प्रधानमन्त्री बन्ने दाबी गर्दै थिए । र, निर्वाचनपछि पनि आफू नै प्रधानमन्त्री बन्ने बताएका थिए । आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउँदै मतदातासँग मत मागिरहेका छन् ।

सभापतिमात्रै के कम, काँग्रेस पूर्वउपसभापति एवं बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै तनहुँ–१ मा भोट मागिरहेका छन् । देउवाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएको भोलिपल्टै पौडेल बोलेका थिए । उनले हरेक हिसाबले आफू भावी प्रधानमन्त्री भएकाले काँग्रेसलाई बहुमत दिलाउन मतदातासँग आग्रह गरेका थिए । उनी यसअघि चुनावी मैदानमा पटक–पटकसम्म भिडेर पनि असफल भएका नेता हुन् ।

केही दिनअघि काँग्रेसका अर्का बरिष्ठ नेता प्रकाशमानसिंहले पनि काठमाडौं क्षेत्र नं. १ का आफ्ना मतदातामाझ उही दाबी गरे । ‘म भावी प्रधानमन्त्री हुँ, मलाई भोट दिनुहोस्,’ उनी यसरी नै सार्वजनिक भइरहेका छन् ।
काँग्रेसमा भावी प्रधानमन्त्रीमा दाबी गर्नेको संख्या अझै बढ्दै छ । 

महामन्त्री शशांक कोइरालाले पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरे । उनले सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गर्दै आफू्ले भावी सरकारको नेतृत्व गर्न सक्ने बताए । तर, सभापति देउवा, पौडेल र आफूमध्ये जसले पनि सरकारको नेतृत्व गर्न सक्ने उनको भनाई छ । जे होस्, उनले पनि आफू पनि भावी प्रधानमन्त्रीको दाबेदार भएको स्पष्ट संकेत गर्दै भने, ‘प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक होे, प्रक्रिया पु¥याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइन्छ ।’ उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढि रहेको पनि संकेत गरे । नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि कोइराला उम्मेदवार छन् ।

काँग्रेस नेताहरुले आफूलाई भावी प्रधानमन्त्रीको दावी गरे पनि चुनावी नतिजा के हुने टुंगो छैन । ठूला दुई दल एमाले र माओवादीको गठबन्धनसामु काँग्रेसको नतिजा लज्जास्पद आउन सक्ने अनुमान पनि भइरहेको छ ।  श्रोत न्युज सेवा

No comments:

Post a Comment