Nov 27, 2017

चुनावमा देखिए ८ तमासाः हवाइफायरदेखि एसिड अाक्रमणसम्म

रुकुमका दुई केन्द्रमा चुनाव रोकियो, थावाङमा 'नो भोट' अस्वीकार

११ मंसिर, काठमाडौं । पहिलो चरणअन्तर्गत आइतबार ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान सम्पन्न भएको छ । मतदान सामान्यतः शान्तिपूर्णरुपमा सम्पन्न भए पनि केही ठाउँमा चाहिँ गठबडी र तमासाहरु देख्न पाइयो ।

पहिलो चरणअन्तर्गत ४४६५ मतदान केन्द्राबाट छिटफुट घटनाहरु भए । मतदानका क्रममा केही ठाउँमा मतपत्र जलाइयो भने केही ठाउँमा बामपन्थी र कांग्रेस कार्यकर्ताहरुको झडपबीच चुनाव सम्पन्न भयो ।
चुनावका क्रममा केही ठाउँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले मतदाता तर्साउन बम बिस्फोट गराएका छन् । हामीले यहाँ ८ वटा घटना संश्लेषण गरेका छौंः

१. रुकुमका दुई केन्द्रमा चुुनाव स्थगित
प्रदेश नं. ६ को पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको काँडास्थित रत्न आधारभूत विद्यालयको (क) केन्द्रको चुनाव स्थगित भएको छ ।
प्रयत्क्षतर्फका २५० मतपत्र अज्ञात व्यक्तिहरुले जलाइदिएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव स्थगित गरिएको हो । स्थगित भएको चुनाव अब दोस्रोचरणको चुनावसँगै यही मंसिर २१ गते हुने भएको छ । विप्लवको कार्यकर्ताहरुले मतपत्र जलाएको शंका गरिए पनि उनीहरुको पहिचान भने भएको छैनन् । घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई सोधपुछ गरी छोडिदिएको छ ।
यस्तै रुकुमको आठवीससकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा एजेन्ट बसेका व्यक्तिले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याए पनि त्यहाँ पनि समानुपातिकतर्फको चुनाव स्थगित भएको छ ।
स्थगित भएको चुनाव कहिले गर्ने भन्ने निर्णय नभएको प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले बताए ।

२. बुथ कब्जा गर्ने प्रयास
यसपटक पनि केही ठाउँमा बुथ कब्जा गर्ने प्रयास भयो । कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनले धादिङको खनियावास गाउँपालिका-४ झार्लाङमा रहेको मतदान केन्द्र कब्जा गर्ने प्रयास गर्‍यो ।
कांग्रेस र राप्रपाका कायृकर्ताहरुले विहान वामपन्थी समर्थित व्यक्तिहरुलाई केन्द्रमा प्रवेश गर्न नदिएपनि मतदान हुन सकेको थिएन । उनीहरुले ढुङगा मुढा प्रहार गरेका थिए ।
थप सुरक्षाकर्मी परिचालन गरी त्यहाँ केही ढिलो गरी मतदान सुरु गरिएको थियो ।

सधै बुथ कब्जा हुने दोलखामा पनि यसपटक पनि प्रयास भएको थियो । तर, सुरक्षाकर्मीले असफल बनाइदिएको छ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बाहिरबाट गएको समूहले दोलखाको तामाकोशी गाउँपालिका जफेमा रहेको जामुने बुथ कब्जा गर्ने प्रयास गरेको थियो ।

३. एजेन्टले मतपेटिकामा एसिड खन्याए
पश्चिम रुकुमको आठवीसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको -ख) मतदान केन्द्रमा एक जना एजेण्टले नै समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याइदिए ।
कांग्रेसका तर्फबाट एजेन्ट बसेका सोही नगरपालिका वडा नं. ११ का केशव खड्काले एसिड खन्याएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
खड्काले मतपेटिकामा एसिड खन्याएर भागेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको थियो ।
आठबीसकोटकै नगरपालिका ३ मा रहेको अर्काे मतदान केन्द्रमा पनि एकजना महिलाले मतपेटिकामा पहिचान हुन नसकेको रसायन पदार्थ खन्याएकी छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

४. रोल्पामा करिब दर्जन ठाउँमा बम
मतदान सुरु हुनुअगावै रोल्पाका विभिन्न मतदान केन्द्र र स्थानहरुमा अज्ञात व्यक्तिले बम राखेर मतदाता आतंकित बनाउने प्रयार गरेका थिए । तर, बम विस्फोट भएर यहाँ पनि कुने अपि्रय घटना हुन पाएन । जिल्लाका थवाङसँगै दुम्ला, सेरम, इरिवाङ घोडागाउँ लगायतका ठाउँमा अज्ञात समूहले बम विस्फोट गराएको थियो ।
यहाँ माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्ती मगर लगायतलाई लक्षित गरी बम विस्फोट गराइएको थियो ।
अज्ञात व्यक्ति र समूहले मतदाता तर्साउने प्रयासगरे पनि मतदाताहरुको उत्साहपूर्वक उपस्थितिमा रोल्पामा पनि मतदान सम्पन्न भएको छ ।
रोल्पामा चुनावको मिति नजिकिँदै गर्दा सुरुदेखि नै बम बिस्फोटका घटनाहरु भइरहेका थिए । त्यो क्रम मतदानको दिन आज पनि जारी रहृयो ।

५. सिन्धुपाल्चोकमा झडप, प्रहरीद्वारा हवाई फायर
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ का विभिन्न दुईवटा मतदान केन्द्रमा झडपकावीच मतदान सम्पन्न भएको छ । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायरसम्म गर्नुपर्‍यो । झडपमा केही कार्यकर्ताहरु घाइते भएका छन् । सुनकोशी गाउँपालिकाको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा वामपन्थी र कांग्रेस कार्यकर्ताहरुवीच झपड भएको थियो ।
यस्तै क्षेत्र नं. १ कै बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्राविको केन्द्रमा पनि वामपन्थी र कांग्रेस कार्यकर्ताहरुवीच झडप भएको यभो । यहाँ पनि प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।
झडपमा वडा सदस्य लक्ष्मण अधिकारी घाइते भएका छन् ।

६. थवाङमा ‘नो भोट’को अपील अस्वीकार
दोस्रो संविधानसभाको चुनावमा शून्य भोट गरेर चर्चामा आएको थवाङका मतदाताले यसपटक मतदान गरेका छन् ।
चुनाव नजिकिएका बेला नेकपाका महासचिव विप्लवले थवाङमै पुगेर ‘नो भोट’ को अपील गरेता पनि थवाङका मतदाताले विहानै मतदान केन्द्रमा पुगेर मतदान गरेको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । थवाङमा मतदातालाई तर्साउन बिहानै-बिहानै विभिन्न ठाउँमा बम बिस्फोट गराइएको थियो । बम बिस्फोट गराएर आतंकित पार्ने प्रयास भए पनि यसपटक थवाङवासीले विप्लवको ‘नो भोट’ अपील अस्वीकार गरिदिए । स्थानीय तहको चुनावमा भने थवाङमा विप्लवका तर्फबाट पनि स्वतन्त्र उम्मेदवारी दिइएको थियो । तर, पराजित भएका थिए ।

७. थवाङको स्थान तिङलाले लियो
नो भोटबाट चर्चामा आएको रोल्पाको थवाङमा यसपटक मतदान भयो । तर, स्थानीय तहको चुनावदेखि मतदान अस्वीकार गरेको सोलुखुम्बुको तिङलामा भने यो चुनावमा पनि मतदान शून्य रहृयो । स्थानीय तहको पुनरसंरचनाबाट असन्तुष्ट बनेका तिङलावासीले यसपटक मतदान गरेनन् । साविकको तिङ्ला गाविसमा यसपटक पाँच वटा मतदान केन्द्र राखिएको थियो । तिङलावासीको संयुक्त निर्णय अनुसार शून्य मतदान गरिएको हो ।

८. डोल्पाका मतदान केन्द्र दिनभर सम्पर्कविहीन
डोल्पाका केही मतदान केन्द्रहरु मतदान सम्पन्न भइसक्दा समेत सम्पर्कविहीन भए । उपल्लो डोल्पाका शे-फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केही मतदान केन्द्रहरुमा ५० प्रतिशत मतदान भएपछि सम्पर्कमा आए ।
 शे-फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
यसमध्ये कलाङ, घेराङ र फोद गाउँ केन्द्र मतदान सम्पन्न भएपछि मात्रै सम्पर्कमा आएको थियो । फोदमा जम्मा २३ मतदाता मात्रै रहेका थिए ।

No comments:

Post a Comment