Dec 4, 2017

आरजुको प्रचारमा किन गएनन् पुष्करनाथ ओझा ?

 Image result for puskar nath ojha

दीपक जोशी, धनगढी मंसिर १७ गते ।
दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ । उमेद्वारहरु आफ्नो पक्षमा माहोल बनाउन अहोरात्र खटिएका छन । बिभिन्न आश्वासन सहित उमेद्वारहरु मतदाता रिझाउनमा व्यस्त छन । कैलाली ५ मा कांग्रेसबाट प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणाले उमेद्वारी दिएपछि यहाँको निर्वाचनको नतिजा कस्तो आउला भन्नेमा सबैको चासो छ । तर कांग्रेसबाट निवर्तमान सांसद पुष्करनाथ ओझा आरजुको पक्षमा प्रचारमा देखिएका छैनन । जस कारण कांग्रेसीहरुको एक ठुलो तप्का आरजुलाई जिताउन नहुने पक्षमा खटिएको बिश्लेषण हुन थालेको छ ।

मतदान हुन ५ दिन मात्रै बाँकी रहदा समेत सांसद पुष्करनाथ ओझा आरजुको प्रचारमा नहिँडेपछि यस पटक कांग्रेसभित्र ठुलो अन्तघार्त हुने अनुमान कांग्रेसकै कार्यकर्ताहरुको छ । २०७० सालमा भएको संबिधान सभाको उपनिर्वाचनमा अत्यधिक मत सहित चुनाव जितेर सांसद बनेका कांग्रेस नेता पुष्करनाथ ओझा यसपटक उनकै क्षेत्रमा चुनाव लडिरहनुभएकी प्रधानमन्त्री पत्नी डा. आरजु राणाको चुनावी प्रचारमा हालसम्म नदेखिएपछि आसन्न निर्वाचनमा कांग्रेसभित्र ठुलो अन्तघार्त हुनसक्ने अनुमान गरिन थालिएको हो ।

कैलाली ५ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि टिकटका प्रबल दाबेदार मानिएका ओझालाई कांग्रेस पार्टीले उपेक्षा गरेको र सोही कारण ओझा चुनावी प्रचारमा नहिँडेपछि निर्वाचनमा कांग्रेसभित्र ठुलो अन्तघार्त हुन सक्ने अनुमान गरिएको हो । ७० सालमा भएको निर्वाचनमा बिजयी ओझाले यसपटक पनि यहि क्षेत्रबाट चुनाव लड्ने दावी गरिरहनुभएको थियो । तर कांग्रेसले उनलाई हटाएर उनको ठाउमा कांग्रेस सभापति तथा प्रधानमन्त्री पत्नी आरजुलाई धनगढीको चुनावी मैदानमा उतारेको छ । धनगढीबाट जसरी पनि चुनाव जित्ने अठोटका साथ आरजुले चुनावी प्रचार अभियान चलाईरहनु भएको छ ।

तर सांसद पुष्करनाथ ओझा उनको पक्षमा मत माग्न नहिँडेपछि आरजुको चुनावी माहोल उत्साहित हुन नसकेको कांग्रेस कार्यकर्ताहरु बताउछन । चुनाव जितेर सांसद भईसकेको व्यक्तीलाई प्रचारमा हिँडाउन नसक्नु चुनावी नतिजाको राम्रो संकेत नभएको कांग्रेस कैलालीका एक नेताले बताए । हुन त पार्टीबाट टिकट पाउने एक नेताले मात्रै हो तर कैलाली ५ मा चुनाव लड्ने दर्जनौ नेता हुदा हुदै आयातित नेतालाई उमेद्वार बनाएको भन्दै सुरु देखि नै कांग्रेसभित्र असन्तुष्टि हुदै आएको छ ।

त्यसैमा निवर्तमान सांसद ओझालाई कुनै पनि स्थानमा भुमिका नदिएर पाखा लगाएको भन्दै रुष्ट भएका ओझा निटक कार्यकताहरु पनि आरजुको पक्षमा खुलेर लागेका छैनन । चुनावी माहोलका बिच धनगढी आएर पनि प्रचारमा नहिँडेपछि धेरैले सांसद ओझा पनि आरजु हराउ अभियानमा सक्रिय भएको आशंका गरेका छन । तर यस्तो आशंका निराधार रहेको देखाउन सांसद ओझा कैलालीको ४, ३ र २ नम्बर क्षेत्रको चुनावी प्रचारमा खटिएका छन । ओझा निकट कांग्रेसका एक नेताले अन्य क्षेत्रका उमेद्वार सुनिल कुमार भण्डारी, रामजनम चौधरी र मोहनसिंह राठोरले बोलाएपछि ओझा उनिहरुको प्रचारमा गएको तर कैलाली ५ मा प्रचारमा हिड्न कसलै नबोलाएकाले यहाँको प्रचारमा नगएको बताएका छन ।

प्रधानमन्त्री पत्नी आरजुलाई उनि निकट जिल्ला स्तरीय नेताले पुष्करनाथ ओझा प्रचारमा नखटिए पनि काँग्रेसले चुनाव जित्ने भन्दै आएको कुराले पनि अहिले निर्वाचन क्षेत्र नम्बर ५ को राजनीति गर्माएको छ । कैलाली ५ मा आफ्नी पत्नीलाई चुनाव लडाउने निर्णय गरेका सभापति देउवाले पुष्करनाथ ओझालाई बिभिन्न ३ ओटा बिकल्प दिएको कुरा चर्चामा आएको छ । देउवाले ओझालाई कैलाली ४ बाट निर्वाचन लड्न नभए समानुपातिकमा बस्न र त्यो पनि नभए प्रदेश सभामा लडेर मुख्यमन्त्री बन्ने बिकल्प खुला राखेका थिए ।

तर यि सबै बिकल्प मान्नका लागि ओझाले कैलाली ५ मा देउवाले आफु लडेर पत्नी आरजुलाई डडेल्धुरा पठाउन आग्रह गरेका थिए । ओझाको यो बिकल्प मान्न तयार नभएपछि देउवाले आफुखुसी निर्णय गरेको श्रोतले जनाएको छ । तर निर्वाचनको मिति नजिकिएका बेला सांसद ओझा हालसम्म प्रचारमा नहिड्नु र कांग्रस समर्थकहरु ले नै पर्चा पम्प्लेट निकालेर आरजु हराउ अभियानमा सक्रिय हुनुले कांग्रेसभित्र ठुलो अन्तघार्त हुने अटकल लगाउन थालिएको छ ।

No comments:

Post a Comment