Dec 4, 2017

प्रधानमन्त्री देउवालाई उनकै गाउँलेले विश्वास नै गर्न छाडे, गाउँले भन्छन्ः धेरैचोटी ढाँटिसके(हेर्नोस, भिडियो)

आशिष मल्ल/डडेल्धुरा, मंसिर।   प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भातकाँडा–गन्यापधुरा जाने सडक बर्षौ बित्दा पनि पिच हुन सकेको छैन । देश चुनावी बहसमा होमिएका बेला देशकै ध्यान यतिबेला प्रधानमन्त्रीको गृह जिल्लामा छ । तर चार पटक प्रधानमन्त्री भइसकेका देउवाको गाँउ जाने बाटोको अवस्था भने दयनीय रहेको छ ।
२०५४ सालमा काटिएको सडक अहिले पनि भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भातकाँडाबाट गाँउसम्मको पूरै सडक कच्ची रहेको छ । सडक कच्ची र भत्सिकेकाले नजिकैको बस्तीसमेत धुलाम्य हुने गरेको छ । झन वर्षातको मौसममा गाडी चालकलाई सास्ती हुने गरेको छ ।

‘चुनावका बेला मात्र देउवा आउँछन्’, गन्यापधुरा गाउँपालिका–१ निवासी इश्वरीप्रसाद अवस्थी भन्छन्, ‘उनले पिच गर्छु भनेर बचन पनि दिए तर अहिलेसम्म सडक जस्ताको तस्तै छ ।’

२०६४ सालको संविधान सभाको निर्वाचनमा पनि देउवाले यही सडक पिच गर्ने चुनावी नारा बनाएर भोट मागेका थिए । तर विजयी भएपछि उनले यो सडकलाई फर्केर नरहेको स्थानीय बताउँछन् ।

‘चार–चार चोटी प्रधानमन्त्री भइसक्दा पनि देउवाको गाँउ जाने बाटोको अवस्था झन कन्तबिजोग छ’, गन्यापधुरा गाँउपालिका–१ निवासी सिताराम जोशीले भने ।

आफ्नो वाचा पुरा नगरेकाले स्थानीयबासी देउवाको विकल्प खोज्न थालेका छन् । ‘भोट हाल्नकै लागि प्रधानमन्त्री पनि यही सडक हुँदै मतदान केन्द्र जानुहुन्छ’, गणेशपुर गन्यापधुरा गाँउपालिका–२ निवासी दिल देउवाले भने ।
हेर्नोस, भिडियो 
देउवा प्रधानमन्त्री हुँदै या सडक पिच हुने हल्ला धेरै सुनिएपनि अब भने गाउँलेले त्यो कुराको विश्वास नै गर्न छाडेका छन् । विजयी भएलगत्तै सडक कालोपत्रे गर्छु भन्दै २०७० सालको निर्वाचनमा मत मागेका प्रधानमन्त्री देउवाले आफूहरूलाई ढाँटेको त्यहाँका बासिन्दाहरूको गुनासो छ । पिच नभएको सडककै कारण देउवाले आफ्नै गाँउबाट लोकप्रियता गुमाएका छन् । यसले उनलाई प्राप्त हुने भोट अन्त जाने जोखिम पनि बढेको छ ।

No comments:

Post a Comment