Dec 2, 2017

देउवाको ओठमा मण्डलेको पुरानो चोट ! (भिडियो रिपोर्ट)

सूर्यपुरामा गिरिजा र देउवाको हत्या गर्न खोज्ने को थिए ?
१६ मंसिर, सूर्यपुरा (रुपन्देही) । ‘लोकतन्त्रको रक्षाका लागि’ भोट माग्दै देशदौडाहामा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवाको ओठमा एउटा पुरानो खत देखिन्छ । यो खत लोकतन्त्रकै लागि लड्ने क्रममा मण्डलेहरुले गरेको सांघातिक आक्रमणका कारण लागेको सम्झन्छन् रुपन्देही कांग्रेसका पुराना कार्यकर्ता । निरंकुश पञ्चायतविरुद्ध लड्ने क्रममा कांग्रेसको तत्कालीन उच्च नेतृत्वको सामुहिक हत्या गर्ने उद्देश्यले ०४० फागुन २२ गते रुपन्देहीको सूर्यपुरामा मण्डलेहरुले सांघातिक आक्रमण गरेका थिए । सो आक्रमणमा कांग्रेस नेता देउवालाई चोट लागेको थियो । घटनामा मण्डलेहरुबाट मारिएका यादवनाथ आलोकलाई कांग्रेसले सहिद घोषणा गरिसकेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार तत्कालीन पञ्चहरुले कांग्रेसका शीर्षनेता स्व. गिरिजाप्रसाद कोइराला, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, स्व. शैलजा आचार्य, गोपाल पराजुली – हाल प्रधानन्याधीश) लगायतका नेताहरु बसेको घर घेरेर आक्रमण गरेका थिए । दर्दनाक उक्त घटनामा कांग्रेसका बरिष्ठ नेताहरु मुस्किलले बच्न सफल भएका थिए ।

कांग्रेस नेताहरुलाई मण्डलेको आक्रमणबाट बचाउन खोज्दा २०० जना घाइते भएका थिए भने ३२ जना अङ्गभङ्ग र दुईजना शहीद भएका थिए । सूर्यपूराकाण्डको नामले बदनाम उक्त घटना अहिले रुपन्देहीका चिया पसलदेखि मतदातासम्म पुनः चर्चाको विषय बनेको छ । किनभने कांग्रेस कार्यकर्ताले सोही घटनाका योजनाकार मान्दै आएका पञ्चायतका हस्तीलाई नै भोट माग्दै हिँड्नुपर्ने परिस्थिति आएको छ । रुपन्देहीका कांग्रेसका कार्यकर्ताहरु उक्त घटनामा जसको हात रहेको दाबी गर्छन्, तिनै व्यक्तिलाई अहिले ‘लोकतन्त्र जोगाउन’ भन्दै भोट माग्नुपर्ने र हाल्नुपर्ने अवस्थामा पुगेका छन् उनीहरु । यो घटनाका दोषीहरु को हुन् भन्नेबारे अधिवक्ता धनपति उपाध्यायको रिपोर्टमा समेत उल्लेख रहेको कांग्रेसका नेताहरु बताउँछन् । मण्डलेहरुको सोहीयोजना अनुसार सूर्यपुरा काण्ड घटेको उनीहरुको दाबी छ ।

सूर्यपुरा घटनाका प्रत्यक्षदर्शी हालका प्रधानन्याधीश गोपाल पराजुलीसमेत हुन् । उनले आफ्नो प्रकाशोन्मूख कृतिमा उक्त घटनामा मण्डलेहरुको आक्रमणबाट कसरी बचियो र सँगैको साथी कसरी शहीद भए भन्ने एक चश्मदीतका रुपमा व्याख्या गरेका छन् । सो घटनाका अर्का प्रत्यक्षदर्शी मध्येका बिराटनगरका उमेश गिरीले गोठमा लुकेर सो घटनाको फोटो खिचेको प्रंत्यक्षदर्शी बताउँछन् ।सोही घटनामा हालका प्रधानमन्त्री कांग्रेस नेता शेरबहादुर देउवाको ओठ मण्डलेहरुको हानेको ढुंगाले लागेर काटिएको प्रत्यक्षदर्शी शक्तिप्रशन्न गिरीले बताए । सुरजपुरा घटनालाई स्व. नेता गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनमा भोगेको सबैभन्दा ठूलो विभत्स घटनाका रुपमा लिने गरेका थिए ।

सूरजपुरा घटनाबारे कांग्रेस कार्यकर्ताको भनाइ यस्तो छः
तिनै मण्डलेहरु हाम्रो समर्थनमा चुनाव लड्दैछन्
शक्तिप्रशन्न गिरी, स्व.पुष्पानन्द गिरीका छोरा
कांग्रेसको देश दौडाहा थियो । बषर्ायामअघि नवलपरासीको अग्र्यौलीमा कांग्रेसको भेलामा प्रहरीले लाठीचार्ज गर्‍यो । केही नेता गिरफ्तार भए । त्यसपछि गिरिजाबाबुले रुपन्देहीमा कायकर्ता भेला गर्ने योजना बनाउनुभएछ ।
सम्भावित आक्रमणका कारण कोही जिल्ला नेता कार्यक्रमस्थल निर्धारण गर्न नसक्ने । मेरा बुबा पुष्पानन्द गिरी जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँले आफ्नै घरमा कार्यक्रम राख्ने हिम्मत गर्नुभयो । ०४० साल फागुन २० गते जिल्ला कार्यसमितिको बैठकको आयोजना भयो ।
म गिरिजा कोइरालालाई लिन बिहान ८ः३० मा खैरेनी पुग्दा आइपुग्नुभएन, उहाँ ढिला गर्नुभयो । उहाँ आएको आफ्नै जीप बिग्रेको रहेछ दाउन्नेमा । उहाँ पछि रसियन जीप चढेर आउनुभयो त्यतिखेर रसियन जिप चल्थे ।
खैरेनीमा नचिनेका मानिसहरु माला लिएर बसेका रहेछन् । उहाँलाई त्यही स्थानमा हत्या गर्ने योजना रहेछ । उहाँ ढीलो भएकाले मात्रै जोगिनुभयो । पछि १२ बजेदेखि दिउँसो २ बजेसम्म हाम्रो घरमा बसेको बैठक माथि सुकुम्वासी बस्तीका रुपमा चिनिएका देवदह र दीपनगरबाट केही व्यक्तिहरुसहित मण्डलेहरु र त्यसभित्र प्रहरीको समेत परिचालन गरी भिषण आक्रमण भयो ।
नेताहरुलाई हामीले छोपेर जोगाएका हौं । आक्रमण कसले गर्‍यो भन्ने थाहा छ । तर हालको लोकतान्त्रिक गठबन्धनको कारण मैले यसबेला धेरै कुरा भन्न सक्दिनँ । यति भन्छु, त्यसका योजनाकारहरु अहिले हाम्रै समर्थनमा चुनाव लडेका छन् ।
सीता भाउजूको सिन्दुर पुछ्नेलाई बोकेर हिँड्न सकिएन
कृष्ण पौडेल, कांग्रेस नेता एवं प्रदेशसभा स्वतन्त्र उम्मेदवार
०४० फागुन २० मा भएको उक्त भेलामा बिहानैदेखि कांग्रेसका कार्यकर्ताहरु जम्मा भएका थिए । दिउँसो १२ बजेतिर सिभिल ड्रेसका केही मानिसहरु, केही झुत्रा झाम्रा कपडा लगाएका व्यक्तिहरुको भिड बढ्दै गयो । भित्र प्रशिक्षण चलिरहेको थियो । गिरिजाप्रसाद कोइराला सवार गाडी दाउन्नेमा बिगि्रएर अर्को गाडी चेञ्ज गरेर आउनु भएको थियो । उहाँ संयोगले बाँचेको मान्छे हो, नत्र खैरेनीमै उहाँलाई मार्ने योजना रहेछ । गाडी चेञ्ज गरेकै कारण उहाँलाई मण्डलेहरुले पहिचान गर्न नसकेर बाँच्नुभो ।

कोइराला सूर्यपुरामा आएर गोप्य भेलामा प्रशिक्षण दिँदै गर्दा एक जना हाफपाइन्ट लगाएको व्यक्ति आएर चिट दियो । उहाँ स्तव्ध हुनुभयो । मन्तव्य रोकेर ‘म थाकेको छु, खाना खाएर बिदा हौंऔं । प्रजातन्त्रले जित्छ, बिजय हाम्रो हुन्छ । राजा बीरेन्द्रको गोप्य सन्देश पनि यही छ’ भन्ने कुरासमेत राख्नुभयो ।
बाहिर स्थिति भयावह भैसकेको थियो । एकाएक मण्डलेहरुको आक्रमण शुरु भयो । घर घेरियो । खुकुरी नचाउँदै मानिसहरु तिमीहरुलाई केही गर्दैनौं, तर कांग्रेसका नेताहरु कता छन् देखाइ देओ भन्दै भित्र पसे । बाहिर हेर्दा २०० मानिस भुइँमा ढलिरहेका थिए । उनीहरु चिच्याइरहेका थिए । पुष्पानन्द गिरीको घर वरिपरि केही मानिसहरुले पराल थुपारेर आगो लगाउन शुरु गरे । हामी परालको धुवाँले अत्तालिन थाल्यौं । बाहिर यादवनाथ आलोकलाई खुकुरी प्रहार भएछ । उनी चिच्चाइरहेका थिए । हामीले नेताहरुलाई घरभित्र लुकाएर बचायांै । 

शेरबहादुर देउवा त्यसबेला युवा हुनुहुन्थ्यो । उहाँको मुखमा ईंटाले लाग्यो । यादवनाथ आलोक र रामप्रसाद चौधरीलगायतका घाइतेहरुलाई लडियामा राखेर हामीले बुटवल पुर्‍याँयांै । नेताहरुलाई पनि जोगाएर घरको बुइँगलमा लुकायौं । पछि शान्त भएपछि रुपन्देहीको समेरा हुँदै गिरिजाबाबुलाई मैले बुटवल पुर्‍याएको हुँ । यस घटनाका योजनाकार पञ्च नै यतिबेला नेताहरुलाई रिझाएर नेपाली कांग्रेसको साझा उम्मेदवार बनेका छन् । उनी, सिडिओ र अञ्चलाधीशसहितले मण्डले प्रयोग गरेर नेताहरु सखाप पार्ने योजना बनाएका हुन् । आलोकका हत्यारा, आदरणीय सीता भाउजूको सिन्दुर पुछ्नेलाई काँधमा बोकेर हिँड्न सकिएन, त्यसैले अहिले मैले स्वतन्त्र उम्मेदवारी दिएको छु ।
अर्जुन गिरी, कांग्रेस नेता एवं घटनाका प्रत्यक्षदर्शी
त्यसबेला पञ्चहरुले घर घेरे । आलोकको हत्या भयो । त्यो घटनामा मृत्यु भएका आलोको अस्तु बनारस लिएर जानेमध्येको एक म पनि हुँ । त्यतिबेला म नेविसंघको कार्यकर्ता थिएँ । घटना घटेको घर पुष्पानन्द मेरा फुपाजुको घर हो । यो घटनाको मुख्य नाइकेले अहिले देशको विकास र जनताको सुरक्षा गर्छु भन्नु हास्यापद छ ।
हेर्नुहोस् भिडियो

No comments:

Post a Comment