डडेल्धुरा । चार पटक प्रधानमन्त्री भइसकेका नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको
भातकाँडा–गन्यापधुरा जाने सडक बर्षौ बित्दा पनि पिच हुन सकेको छैन । देश
चुनावी बहसमा होमिएका बेला देशकै ध्यान यतिबेला प्रधानमन्त्रीको गृह
जिल्लामा छ । तर चार पटक प्रधानमन्त्री भइसकेका देउवाको गाँउ जाने बाटोको
अवस्था भने दयनीय रहेको छ । २०५४ सालमा काटिएको सडक अहिले पनि भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भातकाँडाबाट गाँउसम्मको पूरै सडक कच्ची रहेको छ ।
सडक कच्ची र भत्सिकेकाले नजिकैको बस्तीसमेत धुलाम्य हुने गरेको छ । झन वर्षातको मौसममा गाडी चालकलाई सास्ती हुने गरेको छ । ‘चुनावका
बेला मात्र देउवा आउँछन्’, गन्यापधुरा गाउँपालिका–१ निवासी इश्वरीप्रसाद
अवस्थी भन्छन्, ‘उनले पिच गर्छु भनेर बचन पनि दिए तर अहिलेसम्म सडक जस्ताको
तस्तै छ ।’ २०६४ सालको संविधान सभाको निर्वाचनमा पनि देउवाले यही
सडक पिच गर्ने चुनावी नारा बनाएर भोट मागेका थिए । तर विजयी भएपछि उनले यो
सडकलाई फर्केर नरहेको स्थानीय बताउँछन् ।
‘चार–चार चोटी
प्रधानमन्त्री भइसक्दा पनि देउवाको गाँउ जाने बाटोको अवस्था झन कन्तबिजोग
छ’, गन्यापधुरा गाँउपालिका–१ निवासी सिताराम जोशीले भने ।
आफ्नो वाचा
पुरा नगरेकाले स्थानीयबासी देउवाको विकल्प खोज्न थालेका छन् । ‘भोट
हाल्नकै लागि प्रधानमन्त्री पनि यही सडक हुँदै मतदान केन्द्र जानुहुन्छ’,
गणेशपुर गन्यापधुरा गाँउपालिका–२ निवासी दिल देउवाले भने ।
देउवा प्रधानमन्त्री हुँदै या सडक पिच हुने हल्ला धेरै सुनिएपनि अब भने गाउँलेले त्यो कुराको विश्वास नै गर्न छाडेका छन् ।
विजयी
भएलगत्तै सडक कालोपत्रे गर्छु भन्दै २०७० सालको निर्वाचनमा मत मागेका
प्रधानमन्त्री देउवाले आफूहरूलाई ढाँटेको त्यहाँका बासिन्दाहरूको गुनासो छ ।
पिच नभएको सडककै कारण देउवाले आफ्नै गाँउबाट लोकप्रियता गुमाएका छन् ।
यसले उनलाई प्राप्त हुने भोट अन्त जाने जोखिम पनि बढेको छ ।
No comments:
Post a Comment