Dec 2, 2017

भ्रूण हत्याः हुनेखानेको अपराध

सुदूरपश्चिमका गाउँबस्तीका शिक्षित र हुनेखानेले पनि भ्रूण परीक्षण गरेर छोरी भए गर्भपतन गराउने अपराध अचाक्ली बढेको छ।
प्रकाश सिंह
http://himalkhabar.com/tinymce/file_manager/source/feature/himal_report/bajura.jpg?1512206864313हिमाली गाउँपालिका–३ बौडीका तुलधन बुढाको परिवार । तस्वीरहरुः प्रकाश सिंह
छेडेदह गाउँपालिका–१, बाजुराकी बिस्नकला बुढाले तीनपटक गर्भपतन गराइसकिन् । दुई छोरी भएपछि उनी भ्रूणमै लिङ्ग पहिचान र गर्भपतनका लागि भारतको पलिया शहर पुग्न थालेकी हुन्  बाजुराको बूढीगंगा नगरपालिका–१० की सुन्तला धामी र बेलौरी–३, कञ्चनपुरकी अमृता लुवारले पनि पलिया नै पुगेर भ्रूण परीक्षण र गर्भपतन गराए । पहिलो छोरी हुर्काइरहेकी लुवार घरपरिवारको लागि यो सब गर्नुपरेको बताउँछिन्  

तीन छोरी हुर्काइरहेकी सुन्तला धामीले पलियामा भ्रूण परीक्षणमा भारु ५ हजार र गर्भपतन गराउँदा पनि त्यति नै लागेको बताइन् । उनका अनुसार, लिंग पहिचान नगरी अल्ट्रासाउण्ड मात्र गर्दा भारु ५०० लाग्छ  भ्रूण परीक्षण गराउँदा छोरो देखिएपछि गर्भपतन नगरी फर्केकी मालुमेला गाउँपालिका–६, बझाङकी मैनादेवी जोशीले त्यति गरेर पलियाबाट घर आइपुग्दा रु.३५ हजार सकिएको बताइन् 

सुदूरपश्चिमका बाजुरा, अछाम, बझङ, कैलाली, कञ्चनपुरलगायतका जिल्लाबाट भ्रूण परीक्षणका लागि भारतको पलिया, रुपैडिहा, खटिमा, पिथौरागड जाने र छोरी भए गर्भपतन गराउने प्रवृत्ति अचाक्ली बढेको   नेपालकै धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्जलगायत शहरका निजी अस्पतालहरूमा लिङ्ग पनि पहिचान र गर्भपतनको धन्दा चलिरहेको छ । बिस्नकला, सुन्तला, अमृता र मैनादेवीका कथाव्यथाले त्यही देखाउँछन् ।
कहालीलाग्दो अवस्था
http://himalkhabar.com/tinymce/file_manager/source/feature/himal_report/bajura1_1.jpg?1512207019169अन्यत्रै गर्भपतन गराएर स्वास्थ्य बिग्रिएपछि सेती अञ्चल अस्पताल आएका बिरामीलाई उपचार गर्ने वार्ड ।
भारतीय शहरका निजी अस्पतालहरूमा भ्रूण परीक्षण गराउने नेपाली महिला पेटमा छोरो छ भने खुशीहुँदै फर्कन्छन्, छोरी भए फालेर अस्वस्थ शरीर र मलिन अनुहार लिएर घर पुग्छन् । नेपाली महिला पलियामा खास गरेर सक्सेना र कपुर नामका निजी अस्पताल पुग्छन् । नेपालमा जस्तै भारतमा पनि भ्रूण परीक्षण अवैध भएकाले ती अस्पतालहरूमाभ्रूणकी लिंग जाँच करना और करवाना अपराध है’ भन्ने जानकारी (हे. तस्वीर) टाँसिएको छ । तर, त्यही अस्पतालमा भ्रूण हत्या गरिन्छ  कतिपयले भारतमा भ्रूण परीक्षण र नेपालमा गर्भपतन गर्ने गरेका छन् । नेपालमा कारण खुलाएर १२ हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिइएको छ र त्यसबापत जम्मा एकहजार रुपैयाँ लाग्छ 

बैतडी जिल्ला अस्पतालका प्रमुख डा. गुणराज अवस्थीका अनुसार, धनगढी, अत्तरिया, महेन्द्रनगर होस् या भारतीय शहरहरूमा, गर्भपतन गराएका थुप्रै महिला जटिल समस्या लिएर नेपालका जिल्ला अस्पतालहरू पुग्ने गरेका छन् 

धनगढीस्थित सेती अञ्चल अस्पतालकी स्टाफ नर्स सुनिता खत्रीले गर्भपतनका कारण धेरै रगत बगेका महिलाहरू आउने गरेको बताइन्  
बाजुरा, बाह्रविसकी मना रावलले भ्रूण परीक्षणमा छोरी देखिएर दोस्रोपटक गर्भपतन गराउँदा झ्ण्डै ज्यान नै गुमाउनु पर्‍यो । त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–५ की खिन्तु चदाराले तेस्रो पटक गर्भपतन गराएपछि अस्पतालमा बसेर रगत चढाउनु परेको थियो 

पटक–पटक गर्भपतन गराएर ज्यान जोखिममा परेका बाजुरेली महिला थुप्रै भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अहेव दीपक शाह बताउँछन् 
भ्रूण हत्याको मुख्य कारण छोरीप्रति गरिने परम्परागत विभेद नै हो । महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाह यसलाई कहालीलाग्दो अवस्था भन्छिन् । उनका अनुसार, छोरा नभए सौता बेहोर्नुपर्ने, घरपरिवार र समाजबाट अपहेलित हुनेलगायतका बाध्यताले सुदूरपश्चिमका महिलाहरूलाई गर्भपतनको लागि बाध्य बनाउने गरेको छ 
जताततै गैर–कानूनी गर्भपतन
http://himalkhabar.com/tinymce/file_manager/source/feature/himal_report/bajura2.jpg?1512207076066पलियाको सक्सेना अस्पतालको भित्तामा टाँसिएको बोर्ड ।
सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका– २०६६ का अनुसार, गर्भपतन सेवा दिने व्यक्ति र संस्था दुवैले स्वास्थ्य सेवा विभाग र परिवार स्वास्थ्य महाशाखाको प्रमाणपत्र लिएको हुनुपर्छ  गाउँहरूमा भने अदक्ष व्यक्तिहरूबाट औषधि पसलमा गर्भपतन गराउने काम भइरहेको छ । कानूनतः १२ हप्ता (हाडनाताको हो भने १८ हप्ता) सम्मका गर्भपतन गराउन पाइन्छ  भ्रूणमा छोरो, छोरी छुट्टिन १६ हप्ता लाग्छ । १६ हप्तापछिको गर्भपतन स्वतः गैर–कानूनी हो । गाउँहरूमा भने सूचीकृत नभएका संस्था, चिकित्सक, एचए, अहेब, अनमी र अरू स्वास्थ्यकर्मीले समेत गैर–कानूनी गर्भपतन गराइरहेका छन् 

भ्रूणको लिङ्ग पहिचान गराउनेलाई तीन महीनादेखि ६ महीना कैद र लिङ्ग पहिचान गरी गर्भपतन गर्नेलाई ६ महीनादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था मुलुकी ऐनमा छ  

धेरैले भारतका अस्पतालमा भ्रूण पहिचान गरी नेपालमा गर्भपतन गराउँछन् । बाजुराको बडिमालिका–७ कोर्धकी धौली लुवारले भारतको पलियामा भ्रूण परीक्षण र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको गेट नजिकैको मेडिकलको औषधि खाएर गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भयो  बाजुरा जिल्ला अस्पतालमा उनको उपचार हुन नसकेपछि अछामको बयलपाटा लगियो  उनी बाँचिन् तर, स्वास्थ्य राम्रो रहेन  बढी गर्भपतन गराएर जोखिममा पुगेका मासिक ३० भन्दा बढी महिला बयलपाटाको बयलगडा अस्पताल पुग्छन् । अछाम, बाजुरा र डोटीतिरका महिला धेरै आउने अस्पताल स्रोत बताउँछ 
बाजुराका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. रूपचन्द्र विश्वकर्मा असुरक्षित गर्भपतन पछि रक्त अल्पतादेखि पाठेघर खस्नेसम्मका समस्या हुने बताउँछन्  
अपराधी’ परिवार/समाज
भ्रूण हत्यामा पति, परिवार र छोरीलाई विभेद गर्ने समाज दोषी छ । महिलाले छोरो नजन्माए घरपरिवार र समाजबाट अपहेलित हुनुपर्छ । छोरो मोह कतिसम्म भने, हिमाली गाउँपालिका–३ बौडिकी जलु बुढालाई छैटौं छोरी जन्मिएपछि घरपरिवारले खेत बिक्री गरेर सातौं गर्भको भ्रूण पहिचान गर्न पालिया पुर्‍यायो  छोरी नै देखिएपछि धनगढी ल्याएर गर्भपतन गराएको जलुका श्रीमान् तुलधन बुढाले बताए । “छोरो नभए समाजले अपुतो भन्छ” उनी भन्छन्, “अर्को पटक जँचाउँदा चाहिं छोरो रहेछ ।”

कतिसम्म भने, बाजुराको एउटा सरकारी कार्यालयकै कर्मचारीले समेत दुईपटक गर्भपतन गराइन् । दुई छोरी भएपछि परिवार र समाजको लागि दुईपटक भ्रूण पहिचान गरेर गर्भपतन गराएको उनले बताइन्  स्वास्थ्य चौकीमा कार्यरत एक अनमीले पनि भू्रण पहिचान गरेर गर्भपतन गराइन् । “श्रीमान्ले भारतको खटिमा लगेर भ्रूण पहिचान र महेन्द्रनगरमा गर्भपतन गराउनुभयो” ती अनमी भन्छिन्, “अर्को पटक जाँच गराउँदा छोरो देखियो, छोरो भएपछि परिवारले हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।”

अधिकारकर्मी सीता विक बाजुरामा शिक्षित र हुनेखानेले भू्रण परीक्षण र छोरी भए गर्भपतन गराउने गरिरहेको बताउँछिन्  उनको भनाइमा, निरक्षर र गरीबलाई त न त्यसबारे जानकारी हुन्छ न आर्थिक क्षमता 
(यो रिपोर्ट एन्टेना फाउन्डेसनको फेलोसिपमा तयार पारिएको हो । यसमा उल्लेख महिलाका नाम परिवर्तन गरिएको छ ।)

No comments:

Post a Comment